२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

वर्षेनी एक लाख ३६ हजार नेपाली मानव तस्करीको शिकार

वर्षेनी एक लाख ३६ हजार नेपाली मानव तस्करीको शिकार

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो अध्ययनले वर्षेनी करिब एक लाख ३६ हजार नेपाली मानव तस्करीमा पर्ने गरेको डरलाग्दो अवस्था देखाएको छ। गरिबी र पैसा कमाउने आशमा विदेश जाँदा धेरै नेपाली दलालको फन्दामा पर्ने गरेका हुन्।

आयोगको प्रतिवेदन अनुसार यसरी तस्करीमा पर्नेमध्ये अधिकांशलाई यौन शोषण र श्रम शोषणमा लगाउने गरिएको छ। पछिल्लो समय यौन कार्यका लागि बेचिनेको संख्या लगातार बढिरहेको छ भने केहीलाई अंग झिक्नका लागि पनि बेचिएको पाइएको छ। देशका ७७ मध्ये ७० जिल्लाका मानिस बेचबिखनको शिकार भएका छन्, जसमा महिला र बालबालिका सबैभन्दा धेरै मारमा परेका छन्।

दलालहरुले नक्कली कागजपत्र बनाएर धेरैजसोलाई खाडी मुलुक, भारत र मलेसिया जस्ता देशहरुमा पुर्‍याउने गरेका छन्। सबैभन्दा धेरै कुवेत, भारत, ओमान र इराकमा नेपाली बेचिने गरेका छन्। दलालहरुले दुबईलाई अन्य देश पठाउने मुख्य बाटोको रुपमा प्रयोग गर्दै आएका छन्। युरोप पठाउने भन्दै विभिन्न कार्यक्रमको बहाना बनाएर पनि मानिसहरुको तस्करी हुने गरेको छ।

तस्करीमा संलग्न हुनेमा पुरुष मात्र नभएर महिलाहरु पनि धेरै छन्। पक्राउ पर्ने हरेक १० जना दलालमध्ये करिब ३ जना महिला हुने गरेका छन्। यति ठूलो संख्यामा तस्करी भइरहे पनि प्रहरीमा भने निकै कम मात्र उजुरी पर्ने गरेको छ। सीमा नाकामा कडा निगरानी नहुँदा र यातायात सञ्चालकहरुको दलालसँगै मिलेमतो हुँदा यो समस्या झन् बढेको प्रतिवेदनमा उल्लेख छ।