२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

गैरआवासीय नेपालीलाई नागरिकता र भोट हाल्ने अधिकार दिने बालेन सरकारको तयारी

गैरआवासीय नेपालीलाई नागरिकता र भोट हाल्ने अधिकार दिने बालेन सरकारको तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई नागरिकताको निरन्तरता, पुर्ख्यौली सम्पत्ति राख्न पाउने र भोट हाल्न पाउने अधिकार दिने तयारी गरेको छ। सरकारले भर्खरै तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा यी कुरा समेटिएका छन्।

‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने नीतिअनुसार विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई देश विकासमा लगाइने मस्यौदामा उल्लेख छ। उनीहरूलाई ठूला पूर्वाधार र उद्योगमा लगानी गर्न भन्दै सरकारले वर्षमा एक खर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने योजना बनाएको छ।

विदेशमा बस्ने नेपालीको पैसा र ज्ञान ल्याएर अन्तर्राष्ट्रिय स्तरको खेलकुद सहर, अनुसन्धान केन्द्र र विशिष्ट अस्पताल जस्ता योजना छिटो निर्माण गर्ने सरकारको लक्ष्य छ। लगानी बढाउन नेपाली धेरै भएका देशसँग दोहोरो कर नलाग्ने सम्झौता गरिने र विदेशमा कामबाट अवकाश पाएका नेपालीलाई स्वदेश फर्काउन विशेष प्याकेज ल्याइने पनि मस्यौदामा भनिएको छ।

सरकारले ६ वटा राष्ट्रिय दलका चुनाव घोषणापत्रलाई मिलाएर यो मस्यौदा बनाएको हो। प्रधानमन्त्री कार्यालयले यसबारे वैशाख १० गतेभित्र सुझाव दिन दलहरूलाई आग्रह गरेको छ। गत चैत १३ गते सार्वजनिक गरिएको सुधारका १०० वटा सूचीअन्तर्गत नै सबै दलको अपनत्व हुने गरी यो मस्यौदा तयार पारिएको हो।