२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

बालेन सरकारको नयाँ योजना: सडक, जल र हवाई मार्ग एकआपसमा जोडिने

बालेन सरकारको नयाँ योजना: सडक, जल र हवाई मार्ग एकआपसमा जोडिने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको सरकारले सडक, जलमार्ग र विमानस्थललाई एकआपसमा जोडेर एकीकृत यातायात प्रणाली विकास गर्ने भएको छ। सरकारले भर्खरै तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा यो कुरा समेटिएको छ।

यातायातलाई आधुनिक बनाउने लक्ष्यसहित महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको दाबी छ। भारतसँगको जलमार्ग र चीनका सामुद्रिक बन्दरगाह प्रयोग गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउने योजना पनि मस्यौदामा राखिएको छ। यसैगरी, उत्तर–दक्षिण जोड्ने सडक निर्माणलाई छिटो अघि बढाउने र पूर्वाधार बनाउँदा वातावरणको पनि ख्याल गरिने बताइएको छ।

अबदेखि विकास आयोजनामा काम नसकिँदासम्म आयोजना प्रमुख र कर्मचारीको सरुवा गरिने छैन। पहुँचको भरमा जथाभावी बजेट बाँड्ने चलन रोकेर साँच्चै आवश्यक र नतिजा दिने आयोजनामा मात्र लगानी गर्ने सरकारको तयारी छ।

सरकारले ६ वटा राष्ट्रिय दलका चुनाव घोषणापत्रलाई मिलाएर यो ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा बनाएको हो। प्रधानमन्त्री कार्यालयले यस विषयमा वैशाख १० गतेभित्र सुझाव दिन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। गत चैत १३ गते सार्वजनिक गरिएको सुधारका १०० वटा कार्यसूचीअन्तर्गत नै यो साझा मस्यौदा तयार पारिएको हो।