२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

प्रधानमन्त्री बालेन शाह र रास्वपाको सम्बन्धमा अमेरिकी संसद्को आशङ्का

प्रधानमन्त्री बालेन शाह र रास्वपाको सम्बन्धमा अमेरिकी संसद्को आशङ्का

न्युयोर्क- राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाहबिचको सम्बन्ध स्वार्थमा केन्द्रित रहेको अमेरिकी संसद्ले आशङ्का गरेको छ। अमेरिकी कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) ले गरेको एक अध्ययनले शाहले रणनीतिक रूपमा रास्वपाबाट चुनाव लडेको उल्लेख गरेको छ।

चैत १३ मा प्रधानमन्त्रीको शपथ लिएका शाहका सामु आगामी दिन चुनौतीपूर्ण देखिएको प्रतिवेदनमा उल्लेख छ। शाहको लोकप्रियता स्थापित शक्ति विरोधी छविका कारण भए पनि शासन गर्ने स्पष्ट योजना अझै बाहिर नआएको अध्ययनको ठहर छ। उनले सामाजिक सञ्जालमा बढी भर पर्ने गरेकाले दलभित्र र बाहिर तनाव बढ्न सक्ने बताइएको छ।

भ्रष्टाचार नियन्त्रण, बेरोजगारी र आर्थिक मन्दी जस्ता समस्या समाधान गर्नु शाह सरकारको मुख्य चुनौती हुनेछन्। प्रतिवेदनका अनुसार फागुन २१ को चुनावले नेपालमा वर्षौँदेखि राज गरेका पुराना दलहरूलाई पछि पार्दै नयाँ अध्याय सुरु गरेको छ। यस चुनावमा शाहले पूर्व प्रधानमन्त्री ओलीलाई नै पराजित गर्नुलाई ठुलो राजनीतिक फेरबदल मानिएको छ।

ओली सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र त्यसपछि भएको आन्दोलनले रास्वपाको जितमा सहयोग पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ। सो आन्दोलनमा धेरैको ज्यान गएपछि गठन भएको चुनावी सरकारले गराएको चुनावबाट नयाँ शक्ति उदाएको हो।

नेपालको यो परिवर्तनलाई अमेरिकाले नजिकबाट हेरिरहेको छ। शाह सरकारले विकास र सन्तुलित विदेश नीति लिने सङ्केत गरे पनि बीआरआईका बारेमा उनको अडान के हुन्छ भन्ने खुलेको छैन। यसैबिच अमेरिकाले तिब्बती शरणार्थीका लागि बजेट बढाएको र एमसीसी परियोजनालाई थप सहयोग गर्ने निर्णय गरेको कुरा पनि प्रतिवेदनमा समेटिएको छ।