विदेशस्थित नेपाली दूतावासहरूमा मनाइयो अन्तर्राष्ट्रिय आरोग्य दिवस
- ०३ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा विश्वका विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले विविध कार्यक्रम गरेका छन्। ढाका, मस्को, कोलम्बो, टोकियो, ओटावा, सोलमा रहेका दूतावास र चीनको ग्वान्झाउमा रहेको महावाणिज्य दूतावासमा यो दिवस मनाइएको हो।
ती कार्यक्रमहरूमा परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देश देखाइएको थियो। टोकियोमा भएको कार्यक्रममा शिलाजित, च्युरीको तेल, जैविक चिया र हिमाली नुन जस्ता नेपाली उत्पादनको प्रदर्शनी गरिएको थियो। त्यहाँ आएका जापानी पाहुनाहरूलाई नेपालको पर्यटन प्रवर्द्धन गर्ने सामग्रीहरू पनि निःशुल्क बाँडिएको थियो।
संयुक्त राष्ट्रसंघले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको छ। नेपालले राखेको प्रस्तावलाई राष्ट्रसंघले गत फागुन २६ गते पास गरेपछि यो दिवस मनाउन थालिएको हो। यसको मुख्य उद्देश्य मानिसहरूलाई रोग लाग्न नदिने उपाय अपनाउन र स्वस्थ जीवनशैली जिउन प्रेरित गर्नु हो।