६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

आउँदो बजेट अधिवेशन फरक र प्रभावकारी बनाउने सभामुखको तयारी

आउँदो बजेट अधिवेशन फरक र प्रभावकारी बनाउने सभामुखको तयारी

काठमाडौं- प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

संसद्का सबै गतिविधिलाई प्रत्यक्ष प्रसारण गरेर पारदर्शी बनाउन चाहेको उनले उल्लेख गरे। पत्रकारहरूलाई संसद्मा प्रवेश र समाचार संकलनमा कुनै समस्या आउन नदिने उनले स्पष्ट पारे। कुनै पनि कानुनको मस्यौदा तयार गर्दा सबै सरोकारवालासँग पटकपटक छलफल गरेर मात्र अघि बढाउने उनको प्रतिबद्धता छ।

देशको आवश्यकतालाई ध्यानमा राखेर संसद्मा नयाँ अभ्यास र नजिरहरू स्थापित गर्दै लैजाने योजना पनि उनले सुनाए। संसद्का कुनै पनि कुरा लुकाउन नहुने भन्दै उनले हरेक काम पारदर्शी हुनुपर्नेमा जोड दिए। कानुन निर्माणको काम छिटोछरितो गर्न संसदीय नियमावलीमै संशोधन गर्न चाहेको पनि अर्यालले बताए।