विभिन्न देशका राजदूतले गरे हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’
- ०५ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर नेपालस्थित विभिन्न देशका राजदूतहरूले हात्तीवन–चम्पादेवी पदमार्गमा पैदलयात्रा गरेका छन्। परराष्ट्र मन्त्रालयले आयोजना गरेको यो ‘आरोग्य पदयात्रा’ मा १३ देशका राजदूत, कूटनीतिज्ञ र सरकारी अधिकारीहरू सहभागी थिए।
पदयात्रा सुरु गर्नुअघि सहभागीहरूलाई हात्तीवन रिसोर्टमा योग र पूर्वीय दर्शनमा आधारित ध्यानबारे अभ्यास गराइएको थियो। प्रशिक्षक प्रतीक शर्माले उनीहरूलाई आसन र प्राणायाम सिकाएका थिए। त्यसपछि उनीहरूले रिसोर्टदेखि चम्पादेवीतर्फ करिब दुई घण्टा पैदलयात्रा गरे।
कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेको बताए। उनले नेपाललाई विश्वकै उत्कृष्ट आरोग्य पर्यटकीय गन्तव्य बनाउने र सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने सरकारको तयारी रहेको जानकारी दिए।
पदयात्रामा सहभागी फिनल्यान्ड, बेलायत लगायतका राजदूत र राष्ट्रसंघका प्रतिनिधिहरूले नेपालको स्वच्छ हावापानी र प्राकृतिक सौन्दर्यको प्रशंसा गरे। उनीहरूले योग र ध्यानसहितको यस पदयात्राले मानसिक शान्ति दिएको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न सन्देश दिने बताए। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस कार्यक्रममार्फत नेपालले प्राकृतिक स्वास्थ्यलाभ पद्धतिलाई कूटनीतिक रूपमा अघि बढाउन खोजेको प्रस्ट पारे।