अमेरिकी दूतावासद्वारा एक्सचेन्ज आल्मुनाईका लागि अनुदान घोषणा, ३५ हजार डलरसम्म पाइने
- ०५ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी सरकारका एक्सचेन्ज कार्यक्रममा सहभागी भएका ‘आल्मुनाई’ हरूका लागि अनुदानको घोषणा गरेको छ। दूतावासले ‘आल्मुनाई इन्गेजमेन्ट इनोभेसन फन्ड (एइआईएफ) २०२६’ अन्तर्गत आवेदन खुला गरेको हो।
यस अनुदानले अमेरिका र नेपालबीचको व्यापारिक सम्बन्ध बलियो बनाउने, अभिव्यक्ति स्वतन्त्रता प्रवर्द्धन गर्ने र दुवै देशको आर्थिक वृद्धिमा सघाउ पुर्याउने परियोजनाहरूलाई सहयोग गर्ने दूतावासले जनाएको छ। सञ्चालन हुने परियोजनाले स्थानीय, राष्ट्रिय वा क्षेत्रीय स्तरमा देखिने गरी सकारात्मक प्रभाव पार्नुपर्नेछ।
यस अनुदानका लागि आवेदन दिन कम्तीमा दुई जना एक्सचेन्ज आल्मुनाईको समूह हुनुपर्नेछ। जसमा कम्तीमा एक जना नेपालमै बसोबास गरिरहेको नेपाली नागरिक हुनु अनिवार्य छ। छनोटमा पर्ने उत्कृष्ट परियोजनाले ५ हजारदेखि ३५ हजार अमेरिकी डलरसम्म अनुदान पाउनेछन्। इच्छुक उम्मेदवारले आगामी मे १४ सम्ममा दूतावासले तोकेको इमेलमा आवेदन बुझाउन सक्नेछन्।