केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
- ०८ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं – काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको दुवाकोट शाखामा पहिलो पटक मुटुको सफल उपचार भएको छ। भक्तपुर इनाचोका ६९ वर्षीय मसिनु माकजू यहाँबाट मुटुको उपचार सेवा लिने पहिलो बिरामी बनेका छन्।
पेट र मुटु दुख्ने समस्या भएपछि उनलाई छोरा अजयले अस्पताल ल्याएका थिए। डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले अत्याधुनिक उपकरणबाट उनको मुटुको गहिरो जाँच गर्यो। करिब आधा घण्टाको परीक्षणमा उनको मुटुका दुईवटा नसा बन्द भएको पत्ता लाग्यो। पहिलो प्रयासमै यस्तो सफलता मिलेकोमा डा. तामाङले खुसी व्यक्त गरे। अहिले बिरामीको अवस्था सामान्य छ। डाक्टरको सल्लाहअनुसार परिवारले चाँडै उनको बन्द नसा खुलाएर जाली राख्ने तयारी गरेका छन्।
मुटु दुख्नेबित्तिकै हृदयघात नै भएको हुँदैन। अस्पतालमा सुरु भएको यो नयाँ जाँचले मुटुको नसाको अवस्था र हृदयघातको जोखिमबारे स्पष्ट पार्छ। दुवाकोटको यो ल्याबमा अब हृदयघातको उपचार, मुटुको शल्यक्रिया, नसा खोल्ने, जाली राख्ने र भल्भको उपचार लगायतका सबै सुविधा उपलब्ध छन्।
कांग्रेस नेता डा. सुनिल शर्माले सञ्चालनमा ल्याएको यो अस्पतालले अब भक्तपुर र वरपरका बिरामीलाई घरदैलोमै मुटुको जटिल उपचार गर्न निकै सहज बनाएको छ।