६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

दक्षिण पूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, कम्बोडियामा १४ जना पक्राउ

दक्षिण पूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, कम्बोडियामा १४ जना पक्राउ

काठमाडौं- परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाका अनलाइन ठगी केन्द्र (स्क्यामिङ सेन्टर) मा फसेका ६१२ जना नेपालीको उद्धार गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओसबाट उनीहरूलाई स्वदेश फर्काइएको हो। जसमा कम्बोडियाबाट सबैभन्दा धेरै ४८७ जना, म्यानमारबाट १११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना छन्। थप ५३ जनालाई पनि छिट्टै नेपाल ल्याउने तयारी छ।

यसैगरी, कम्बोडियामा विभिन्न आपराधिक काममा संलग्न भएको आरोपमा थप ९ जना नेपाली पक्राउ परेका छन्। प्रवक्ता क्षेत्रीले ५ जनालाई सङ्गठित ठगी र ४ जनालाई शरीर बन्धक तथा यातना दिएको आरोपमा अनुसन्धान र कारबाही अघि बढाइएको बताए। यसअघि पक्राउ परेका ५ जनासहित कम्बोडियामा पक्राउ पर्ने नेपालीको कुल सङ्ख्या १४ पुगेको छ। सन् २०२१ यता कम्बोडिया गएका करिब २१ हजार नेपालीमध्ये धेरैजना यस्ता ठगी केन्द्रमा फसेको हुनसक्ने मन्त्रालयको अनुमान छ।

अर्कोतर्फ, मन्त्रालयले गैरआवासीय नेपाली सम्बन्धी कानुनको मस्यौदामा पनि छलफल तीव्र पारेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपालीको सीप र पुँजी देश विकासमा लगाउने गरी छिट्टै मस्यौदा संसद्मा पेस गर्ने बताए। हालसम्म ५ हजारभन्दा बढीले गैरआवासीय नागरिकता लिइसकेका छन्। मन्त्रालयले ५ दिनभित्र मस्यौदा परिमार्जन गरेर अघि बढाउने तयारी गरेको छ।