२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

ट्रम्प उपस्थित कार्यक्रममा गोली चल्यो, आक्रमणकारी पक्राउ

ट्रम्प उपस्थित कार्यक्रममा गोली चल्यो, आक्रमणकारी पक्राउ

न्युयोर्क- अमेरिकाको वासिङ्टनस्थित एक होटलमा भइरहेको कार्यक्रममा शनिबार राति एक बन्दुकधारीले आक्रमण गरेका छन्। ह्वाइट हाउसका पत्रकारहरूको उक्त रात्रिभोजमा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र अन्य उच्च अधिकारीहरू सहभागी थिए। बन्दुकधारी कार्यक्रम स्थलतिर अघि बढेपछि उनीहरूलाई तत्काल सुरक्षित स्थानमा लगिएको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस एलेन हुन्। उनी बन्दुक र चक्कुसहित सुरक्षा जाँचपास पार गर्दै कार्यक्रम स्थलको मुख्य कोठातिर दौडिएका थिए। त्यसपछि सुरक्षाकर्मी र उनीबीच गोली हानाहान भएको थियो। सुरक्षाकर्मीले उनलाई भुइँमा लडाएर पक्राउ गरे। यस क्रममा एक सुरक्षाकर्मीको बुलेटप्रुफ ज्याकेटमा गोली लागेको थियो, जसलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। आक्रमणकारीलाई गोली नलागे पनि अस्पताल लगिएको प्रहरीले बताए।

घटनाको कारण पूर्ण रूपमा खुल्न बाँकी छ। तर, सुरुवाती अनुसन्धानमा उनले ट्रम्प प्रशासनका अधिकारीहरूलाई लक्षित गरेको देखिएको कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चले बताए। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले आक्रमणकारीले ट्रम्प र अन्य उच्च अधिकारीको हत्या गर्न खोजेको बताइन्। अनुसन्धानकर्ताहरूका अनुसार ती व्यक्ति लस एन्जलसबाट रेल चढेर वासिङ्टन पुगेका थिए र उनले हतियार कानुनी रूपमै किनेका थिए। उनी एक्लैले यो योजना बनाएको प्रहरीको अनुमान छ।

राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मीको कामको प्रशंसा गरे। उनले आक्रमणकारीलाई तत्काल रोकेको भन्दै उनीहरूलाई धन्यवाद दिए। साथै, उनले स्थगित भएको उक्त महत्त्वपूर्ण कार्यक्रम ३० दिनभित्रै फेरि आयोजना गर्नुपर्ने बताए।