रामगीता वाङ्मय मन्दिरद्वारा पाँच स्रष्टा पुरस्कृत र सम्मानित
- १४ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौँ- रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले साहित्य र कला क्षेत्रका पाँच जना विशिष्ट व्यक्तित्वलाई पुरस्कृत गरेको छ। शनिबार काठमाडौँमा आयोजित विशेष समारोहमा ५० हजार राशिको ‘प्रतीक–ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कवि मनप्रसाद सुब्बाको कविता सङ्ग्रह ‘पञ्चतत्त्वको पालाम’ लाई प्रदान गरिएकाे छ।
यसैगरी, ५० हजार राशिकै ‘अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार’ बाट नाट्यकर्मी आकांक्षा कार्की पुरस्कृत भइन्। पत्रकार किशोर पन्थीलाई ‘रामगीता सञ्चार सेवा पुरस्कार’ प्रदान गरियो भने वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराल र अभिनेत्री सुषमा शाहीलाई ‘रामगीता लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरिएकाे थियाे।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै कवि मनप्रसाद सुब्बाले पाठकको मायाले नै आफूलाई पुरस्कृत भएको महसुस गराएको बताए। नाट्यकर्मी कार्कीले यो सम्मानले नारीका आवाज बुलन्द बनाउन थप ऊर्जा मिलेको बताइन्। यस्तै, गीतकार बराल र अभिनेत्री शाहीले आफ्नो दीर्घ साधनाको कदर भएकोमा खुसी व्यक्त गरे।
कार्यक्रमकी अध्यक्ष तथा पुरस्कारकी संस्थापक गीता खत्रीले सर्जकहरूलाई उनीहरूकै जीवनकालमा सम्मान गर्ने उद्देश्यले यी पुरस्कार स्थापना गरेको जानकारी दिइन्। प्रमुख अतिथि नवराज लम्सालले योग्य पात्रहरू छानिएको भन्दै संस्थाको प्रशंसा गरे। सभाध्यक्ष दुबसु क्षेत्रीले सिर्जनाको क्षेत्र सधैँ दिगो रहने बताए। रामगीता वाङ्मय मन्दिरले हरेक जोर वर्षमा यसरी पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ।