प्रथम वडाअध्यक्ष कपको उपाधि लिखु – ६ ओखलढुंगालाई
- १४ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रामेछापको सैपुमा आयोजित प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि लिखु गाउँपालिका–६, ओखलढुंगाले हासिल गरेको छ । शनिबार राति सम्पन्न भएको प्रतियोगितामा लिखु गाउँपालिका -७ लाई पराजित गर्दै वडा नम्बर ६ विजयी भएको वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । प्रतियोगितामा चम्पादेवी गाउँपालिका–२, पलापु तृतीय, र खानिखोला गाउँपालिका–७, काभ्रे सान्त्वना घोषित भएका छन्।
वडा अध्यक्ष पौडेलका अनुसार विजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले ६० हजार, तृतीयले ३० हजार र सान्त्वना टिमले १५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सर्वर र सेटरलाई पनि विशेष पुरस्कार प्रदान गरिएको छ। वडास्तरीय प्रतियोगितामा रामेछाप, काभ्रे, दोलखा र ओखलढुंगाबाट १६ टिमले प्रतिस्पर्धा गरेका थिए।
विजेतालाई लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रिन र वडाध्यक्ष पौडेललगायतले पुरस्कार वितरण गरेका थिए।
वडा अध्यक्ष पौडेलले स्थानीयस्तरबाट खेलाडी उत्पादन र क्षमता विकासमा सहयोग पुगोस् भनेर मोफोसलमा प्रतियोगिता आयोजना गरिएको बताए। स्थानीय तहले खेलाडी र खेलकुदमा निरन्तर लगानी वृद्धि गरे भविष्यमा राष्ट्रिय टीममा पुग्नसमेत आधार बन्ने बताए। उनले भने, “खेलकुदले युवालाई स्वस्थ, अनुशासित र आपसी सम्बन्ध सुदृढ बनाउन मात्र होइन, स्थानीय पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याएको छ। यस प्रतियोगिताले हाम्रो वडा तथा गाउँपालिकामा खेलकुदको महत्व अझ बढाएको छ।”
खेलकुद प्रतियोगिताले युवामा सकारात्मक ऊर्जा जगाउनुका साथै खेलकुदलाई सामाजिक विकाससँग जोड्ने अवसर प्रदान गरेको वडा खेलकुद विकास समितिको दाबी छ। कार्यक्रममा वडाका सबै विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो।