२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

सरकारले ल्याएका अध्यादेशको विपक्षी दलहरुद्वारा कडा विरोध: फिर्ता लिन र संसद बोलाउन माग

सरकारले ल्याएका अध्यादेशको विपक्षी दलहरुद्वारा कडा विरोध: फिर्ता लिन र संसद बोलाउन माग

काठमाडौं- नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका चार विपक्षी दलहरूले सरकारले भर्खरै सिफारिस गरेका अध्यादेशहरूको कडा विरोध गरेका छन्। वैशाख १६ गते कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको संयुक्त बैठकले सरकारको कदम असंसदीय र अलोकतान्त्रिक भएको ठहर गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो।

सरकारले वैशाख १४ गते संवैधानिक परिषद् र सहकारी ऐन संशोधन गर्ने दुईवटा अध्यादेश तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। संसद अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरेर यसरी अध्यादेश ल्याइनुलाई विपक्षी दलहरूले घोर भर्त्सना गरेका छन्। उनीहरूले संसद छल्ने उद्देश्यले ल्याइएका ती अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष अनुरोध समेत गरेका छन्।

यसका साथै, स्थगित गरिएको संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन विपक्षी दलहरूले जोडदार माग गरेका छन्। संयुक्त प्रेस विज्ञप्तिमा कांग्रेस संसदीय दलका नेता आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी प्रतिनिधि सरस्वती लामाले हस्ताक्षर गरेका छन्।