२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अध्यादेश दल फुटाउन ल्याएको होइन: रवि लामिछाने

अध्यादेश दल फुटाउन ल्याएको होइन: रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश दल फुटाउन नभएको प्रस्ट पारेका छन्। संसदीय दलको बैठकमा सांसदहरूलाई १२ बुँदे निर्देशन दिँदै उनले सुधारका लागि अध्यादेश ल्याइएको बताए।

विगतमा दल फुटाउन वा विपक्षीलाई दुःख दिन अध्यादेश ल्याउने चलन भए पनि अहिले त्यस्तो नभएको उनले बताए। विगतका गलत नियुक्ति सच्याउन र खाली रहेका संवैधानिक आयोगहरूमा छिटो नियुक्ति गरेर जनअपेक्षा अनुसार काम गर्न यो कदम चालिएको उनको भनाइ छ। सरकार फेरिएकाले अब सत्ता र सार्वजनिक सेवा दिने संस्कार पनि फेरिनुपर्नेमा उनले जोड दिए। रास्वपा मालिक बन्न खोज्नेको लागि नभई सेवकहरूको पार्टी भएको उनले बताए।

सुकुम्बासी समस्याबारे बोल्दै लामिछानेले जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सारिने र कसैलाई पनि घरबारविहीन नबनाइने बताए। यस विषयमा भोटको राजनीति नगर्न पनि उनले आग्रह गरे। त्यस्तै, सांसदहरूको मुख्य काम कानुन बनाउने भएको भन्दै उनले मन्त्री र सचिवहरूसँग नियमित छलफल गर्न निर्देशन दिए।

खाडी देशको द्वन्द्वले बजार भाउमा पारेको असरबारे सरकार गम्भीर भएर काम गरिरहेको उनले बताए। पार्टीमा नयाँ आउनेलाई स्वागत भए पनि संगठनमा खटेर काम गरेर प्रमाणित गरेपछि मात्र अवसर पाइने उनले स्पष्ट पारे।