सांसद महावीर पुनको सम्पत्ति सार्वजनिक: न घर छ, न गाडी
- १६ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रतिनिधि सभा सदस्य महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो आत्मकथा बेचेर करोडौं कमाएको भन्ने आरोपको खण्डन गर्दै उनले सामाजिक सञ्जालबाट यो विवरण बाहिर ल्याएका हुन्।
संसद सचिवालयले विवरण नदेखाउला भन्ने शंका लागेर आफैंले सार्वजनिक गरेको उनले बताए। विवरण अनुसार उनको नाममा कुनै घर र गाडी छैन। अचल सम्पत्तिको रूपमा कास्कीको माझठानामा करिब ४ लाख रुपैयाँमा किनेको जग्गा मात्र छ। त्यो जग्गा पनि आविष्कार केन्द्र चलाउन बिक्रीमा राखेको तर अहिलेसम्म नबिकेको उनले खुलाएका छन्।
त्यस्तै, चल सम्पत्तितर्फ नेपाल बैंकमा साथीहरूले व्यक्तिगत खर्चका लागि दिएको ४ लाख र राष्ट्रिय वाणिज्य बैंकमा चुनावको बेला बचेको २५ लाख रुपैयाँ छ। उनकी श्रीमतीसँग साथीहरूले उपहार दिएको अन्दाजी ३ तोला सुन रहेको विवरणमा उल्लेख छ।
पुनले आफ्नो किताब २ लाख ५० हजार प्रति बिक्री भएको र त्यसबाट आएको सबै पैसा आविष्कार केन्द्र तथा वीरगन्ज कृषि औजार कारखाना चलाउन बैंकमा जम्मा गरिरहेको प्रस्ट पारे। भौतिक सम्पत्ति भन्दा पनि देश विदेशका सहयोगी नै आफ्नो खास सम्पत्ति भएको उनले बताए।