राजा चार्ल्सलाई न्युयोर्कका मेयरको सुझाव: भारतको हिरा फर्काइदेऊ
- १६ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले बेलायतका राजा चार्ल्स तृतीयलाई चर्चित ‘कोहिनुर’ हिरा भारतलाई नै फर्काउन सुझाव दिए। बुधबार पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफ दिँदै उनले यस्तो बताए।
यदि राजा चार्ल्ससँग एक्लाएक्लै भेट्ने अवसर पाएमा आफूले उक्त हिरा फर्काउन आग्रह गर्ने उनले प्रष्ट पारे। सन् १८४९ मा इस्ट इन्डिया कम्पनीले भारतबाट लगेको १०५.६ क्यारेटको यो हिरा अहिले लन्डनमा राखिएको छ।
राजा चार्ल्स र रानी क्यामिला ‘नाइन इलाभेन’ स्मारकको एक कार्यक्रममा सहभागी हुनुभन्दा करिब दुई घण्टा अघि मात्र मेयर ममदानीले यो कुरा भने। यद्यपि, उनीहरुबीच कुनै व्यक्तिगत भेटघाटको कार्यक्रम भने तय नभएको अधिकारीहरुले जनाए।