पत्रकारलाई भिडियो खिच्न नरोकेको प्रधानमन्त्री सचिवालयको स्पष्टीकरण
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई भिडियो खिच्न रोकिएको भन्ने समाचारबारे प्रधानमन्त्रीको सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार प्रेस नोट जारी गर्दै सचिवालयले यस घटनालाई बढाइचढाइ नगर्न आग्रह गरेको छ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जारी गरेको नोटमा प्रधानमन्त्री बालेन्द्र शाह कार्यालय जाने क्रममा गाडीको भिडभाड देखेपछि सुरक्षाकर्मीसँग व्यवस्थापनबारे मात्र सोधेको उल्लेख छ। उनले पत्रकारलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै पनि निर्देशन नदिएको सचिवालयले प्रस्ट पारेको छ।
प्रधानमन्त्री भित्र गएपछि सुरक्षाकर्मीले गेटमा रहेका पत्रकारलाई हट्न भनेका थिए। सो कुराको गुनासो आएलगत्तै सचिवालयले समन्वय गरेर भिडियो खिच्न कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै सुरक्षा व्यवस्थापनको सामान्य कुरालाई प्रेसमाथिको रोकका रूपमा नबुझ्न सचिवालयले अनुरोध गरेको छ।