नागढुङ्गा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा आउने
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौँ- काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा रहेको नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको ९९ प्रतिशत काम पूरा भएको र बाँकी सामान्य काम सकेर साउनको दोस्रो हप्तादेखि यातायातका लागि खुला गर्ने तयारी भइरहेको छ।
आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्ग चलाउने जिम्मा पाँच वर्षका लागि एउटा चिनियाँ कम्पनीलाई दिइएको बताए। उनका अनुसार सुरुङमार्ग बनाउन करिब २२ अर्ब रुपैयाँ लागेको छ। यसमध्ये १६ अर्ब निर्माणमा र ६ अर्ब जग्गाको मुआब्जा दिन खर्च भएको छ।
करिब २.७ किलोमिटर लामो यस सुरुङमार्गभित्र अत्याधुनिक प्रविधि राखिएको छ। यहाँ स्वचालित बत्ती, क्यामेराबाट निगरानी, हावा प्रवाह गर्ने मेसिन र आगो निभाउने आधुनिक व्यवस्था मिलाइएको छ। मुख्य सुरुङमार्ग ११ मिटर चौडा छ। यसका साथै आपत्कालीन उद्धारका लागि अर्को सानो सुरुङ पनि बनाइएको छ, जसलाई हरेक ३७५ मिटरमा मुख्य सुरुङसँग जोडिएको छ।
सुरुङमार्ग सञ्चालन गर्न २४ सै घण्टा १५० जना कर्मचारी खटिनेछन्। सुरुङभित्र दुर्घटना वा आगलागीको जोखिम हुने भएकाले सुरक्षा र उद्धारका लागि मात्रै छुट्टै ६४ जनाको टोली रहनेछ। जामका कारण घण्टौँ लाग्ने नागढुङ्गा–बलम्बु खण्डको यात्रा अब सुरुङमार्ग खुलेपछि करिब ७ मिनेटमै पूरा गर्न सकिने नेपालले बताए।
यहाँ सवारीसाधन नरोकी आफैँ कर काटिने स्वचालित प्रणाली राखिएको छ। हाल यो नाकाबाट दैनिक करिब ८८०० सवारीसाधन ओहोरदोहोर गर्छन्। यसमध्ये ६० प्रतिशतले मात्र सुरुङमार्ग प्रयोग गरे पनि वार्षिक ३५ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको छ। निर्माणबाट प्रभावित भएका सबै परिवारलाई मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको आयोजनाले जनाएको छ।