जनताको करबाट तलब खानेले जनताकै सेवा गर्नुपर्छ: सञ्चारमन्त्री
- २४ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट तलब र सुविधा लिनेहरूले जनताकै सेवा गर्नु मुख्य दायित्व भएको बताएका छन्। बिहीबार काठमाडौंमा गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।
नागरिकले तिरेको करबाट तलब खाने र सरकारी अनुदानबाट चल्ने संस्थाहरूले सधैँ नागरिककै हितमा काम गर्नुपर्नेमा उनले जोड दिए। सरकार भनेको कुनै व्यक्ति नभई नागरिक नै भएकाले जनहितका काममा ध्यान दिनुपर्ने उनको भनाइ छ।
सूचना प्रविधिको विकाससँगै सञ्चारमाध्यमले नागरिकको आवाजलाई केन्द्रमा राख्नुपर्ने उनले बताए। सरकारी संस्थानहरूलाई समयअनुसार थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको मन्त्री तिमिल्सिनाले प्रस्ट पारे।
उनले गोरखापत्रलाई अरू सञ्चारमाध्यमभन्दा कसरी फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्नेबारे गम्भीर समीक्षा गर्न सुझाव दिए। सोही कार्यक्रममा मन्त्री तिमिल्सिनाले सन्थाल र हायु भाषाको समाचार पृष्ठको सुरुवात पनि गरे।