२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

१६ युरोपेली देशसँग श्रम सम्झौता गर्न परराष्ट्रको सहयोग लिइने

१६ युरोपेली देशसँग श्रम सम्झौता गर्न परराष्ट्रको सहयोग लिइने

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले युरोपका १६ वटा देशसँग श्रम सम्झौता गर्न परराष्ट्र मन्त्रालयमार्फत पहल गर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। श्रम मन्त्रालय आफैँले पहल गर्दा ती देशहरूबाट जवाफ आउन ढिला भएकोले अब परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाउन लागिएको उनले खुलाए।

मन्त्री यादवका अनुसार अहिले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता छ, तर नेपाली श्रमिकहरू १७८ देशमा पुगेका छन्। विदेश जानेमध्ये ४८ प्रतिशतले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिने गरेको उनले जानकारी दिए। वैदेशिक रोजगारीका नाममा हुने ठगी र शोषण रोक्न मन्त्रालयले प्रयास गरिरहेको पनि उनले दाबी गरे।

धेरै महिला घरेलु श्रमिक गैरकानुनी बाटोबाट विदेश जाँदा समस्यामा परेको र राज्यले सहयोग गर्न नसकेको उनले बताए। युद्धका कारण विदेशमा ज्यान गुमाएका श्रमिकको शव ल्याउन केही ढिला भए पनि अब त्यस्तो नहुने मन्त्री यादवले प्रस्ट पारे।

मन्त्रालय स्थानीय तहमै रोजगारी सिर्जना गर्ने योजनाका साथ अघि बढेको उनको भनाइ छ। बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा जानेलाई ठगिनबाट जोगाउन सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका थिए। बैठकको अन्त्यमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिका अघिल्ला निर्देशन र सुझावहरू बुझाएका थिए।