सांसद आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी
- २६ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै सांसद आशिका तामाङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। पार्टीको आन्तरिक विषयलाई लिएर सामाजिक सञ्जालमा सार्वजनिक टिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोध्न लागिएको हो।
रास्वपाले शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सांसदहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। तर सांसद तामाङले कार्यक्रम स्थललाई लिएर असन्तुष्टि पोखेकी छन्। उनले सिंहदरबारभित्रै प्रशस्त हलहरू हुँदाहुँदै बाहिर महँगोमा कार्यक्रम किन गरियो भन्दै प्रश्न गरेकी छन्।
आशिकाले सामाजिक सञ्जालमा लेख्दै फजुल खर्च नगर्ने भनेर आएका नयाँ र पुराना पार्टीबीच यस्तै व्यवहारले के फरक रह्यो भन्दै आलोचना गरेकी छन्। पार्टीको पद्धति र निर्णय विपरित सार्वजनिक टिप्पणी गरेपछि रास्वपाले उनलाई सोधपुछ गर्न लागेको एक नेताले बताए।