क्रुज जहाजमा हन्टाभाइरसको आतंक: अमेरिका र क्यानडामा उच्च सतर्कता
- २८ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- एमभी होन्डियस नामको क्रुज जहाजमा हन्टाभाइरस फैलिएपछि विश्वभर त्रास फैलिएको छ। अर्जेन्टिनाबाट यात्रा सुरु गरेको यो जहाजमा रहेका सात जनामा अहिलेसम्म सङ्क्रमण पुष्टि भइसकेको छ।
यो भाइरसका कारण नेदरल्याण्डका एक दम्पती र जर्मनीका एक नागरिकले ज्यान गुमाएका छन्। अहिले जहाजमा रहेका विभिन्न देशका यात्रुहरूलाई आ-आफ्नो देश फर्काउने र निगरानीमा राख्ने काम भइरहेको छ।
अमेरिका र क्यानडामा कडा निगरानी
अमेरिकाले आफ्ना १७ नागरिकलाई ओमाहास्थित एक विशेष स्वास्थ्य केन्द्रमा पुर्याएको छ। तीमध्ये एक जनामा भाइरस पोजेटिभ देखिएको छ भने अर्का एक जनामा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरूले बताए। सङ्क्रमित व्यक्तिलाई विशेष निगरानीमा राखेर उपचार सुरु गरिएको छ।
यता क्यानडाले पनि जहाजबाट फर्केका आफ्ना चार नागरिकलाई २१ देखि ४२ दिनसम्म कडा क्वारेन्टाइनमा राख्ने भएको छ। बेलायत र स्पेनले पनि आफ्ना नागरिकलाई फिर्ता लगेर विशेष अस्पतालमा भर्ना गरेका छन्।
के हो हन्टाभाइरस ?
विशेषज्ञहरूका अनुसार हन्टाभाइरस मुख्यगरी मुसाको पिसाब, दिसा वा र्यालबाट मानिसमा सर्छ। यो भाइरस एक मानिसबाट अर्कोमा सर्ने जोखिम निकै कम हुन्छ। तर, जहाजको बन्द वातावरणमा नजिकको सम्पर्कका कारण सङ्क्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ।
अहिले ओमाहामा अमेरिकी स्वास्थ्य अधिकारीहरूले यसबारे थप जानकारी दिन पत्रकार सम्मेलन गरिरहेका छन्। उनीहरूले भाइरसको प्रकृति र नागरिकको स्वास्थ्य अवस्थाबारे नयाँ अपडेट दिने बताएका छन्।