हंगेरीका नयाँ प्रधानमन्त्री म्याग्यारले लिए शपथ, सुशासन र जनविश्वासमा जोड
- ३० बैशाख २०८३
- १ मिनेटको पढाई
हंगेरी- हंगेरीका नयाँ प्रधानमन्त्री पिटर म्याग्यार नेतृत्वको सरकारले मंगलबार राजधानी बुडापेस्टस्थित संसद्मा शपथ लिएको छ। यसअघि राष्ट्रपति तामस सुल्योकले नयाँ मन्त्रीहरूलाई नियुक्त गरेका थिए।
संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री म्याग्यारले जनताको विश्वास फर्काउने, सुशासन ल्याउने र अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउने आफ्नो मुख्य लक्ष्य भएको बताए। उनले सरकारी निकायमा जनताको भरोसा बढाउन स्पष्ट र पारदर्शी भएर काम गर्ने बताएका छन्।
युरोपेली संघ र नेटोमा आफ्नो देशको हित जोगाउँदै पश्चिमी देशहरूसँगको सम्बन्ध थप बलियो बनाउने उनको भनाइ छ।
नयाँ मन्त्रिपरिषद् १६ सदस्यीय छ। यसमा अर्थ, स्वास्थ्य, शिक्षा तथा बालबालिका र न्याय मन्त्रालयलाई विशेष अधिकार दिइएको छ। यी चार मन्त्रालयले मन्त्रिपरिषद्मा विशेषाधिकार प्रयोग गर्न पाउनेछन्।
गत अप्रिल १२ मा भएको चुनावमा म्याग्यारको ‘टिसा पार्टी’ले भिक्टर ओर्बानको गठबन्धनलाई हराउँदै दुई-तिहाइ बहुमत ल्याएको थियो। शनिबार संसद्बाट प्रधानमन्त्री चुनिएका उनले मंगलबारबाट औपचारिक रूपमा काम सुरु गरेका छन्।