२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

विकास र सुशासनमा सहकार्य बढाउन नेपाल र यूएनडीपी सहमत

विकास र सुशासनमा सहकार्य बढाउन नेपाल र यूएनडीपी सहमत

काठमाडौं- नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालको विकास र दिगो विकास लक्ष्य भेट्टाउन सहकार्य बलियो बनाउने प्रतिबद्धता जनाएका छन्। मंगलबार अर्थ मन्त्रालयमा भएको यूएनडीपीको पाँचवर्षे रणनीतिक योजनाको वार्षिक समीक्षा बैठकमा यस्तो सहमति भएको हो।

बैठकमा सन् २०२५ का उपलब्धि र आगामी वर्षका प्राथमिकताका विषयमा छलफल भयो। यूएनडीपीको यो योजनाले मुख्यगरी आर्थिक रूपान्तरण, सुशासन र समावेशीकरण तथा वातावरणीय दिगोपनलाई प्राथमिकतामा राखेको छ।

बैठकमा यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले नेपालसँगको ६ दशक लामो साझेदारी नागरिकको हितमा समर्पित रहेको बताइन्। उनले सरकारसँगको सहकार्यले भविष्यका चुनौती सामना गर्न बाटो खुलाउने बताइन्।

त्यस्तै, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले नेपाल आर्थिक सुधारको नयाँ चरणमा पुगेको बताए। सरकारले सुशासन र लगानीमैत्री वातावरणलाई उच्च प्राथमिकता दिएको उनको भनाइ थियो। उनले आगामी दिनमा विद्युतीय सुशासन र संस्थागत सुधारका क्षेत्रमा यूएनडीपीबाट थप सहयोगको अपेक्षा गरेको प्रस्ट पारे।

सोही अवसरमा यूएनडीपीले नेपालमा काम गर्न थालेको ६० वर्ष पुगेको अवसर पारेर आफ्नो ‘वार्षिक प्रतिवेदन २०२५’ पनि सार्वजनिक गरेको छ। नेपाल अल्पविकसित देशबाट माथि उठ्न लागेको अहिलेको अवस्थामा यूएनडीपीले विकास साझेदार र अन्य निकायहरूसँगको समन्वय अझै प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।