न्युयोर्कको वुडसाइडस्थित दिव्य धाम मन्दिरमा भागवत कथा सम्पन्न, हजारौँ भक्तजन सहभागी
- ०५ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क — प्रसिद्ध आध्यात्मिक वक्ता देवी प्रतिभाले वाचन गरेको तीन दिने श्रीमद् भागवत कथा न्युयोर्कको वुडसाइडस्थित दिव्य धाम मन्दिरमा भव्य रूपमा सम्पन्न भएको छ। मे १५ देखि मे १७, २०२६ सम्म चलेको यो कार्यक्रम ‘हामी नेपाली इन्टरनेसनल’ र ‘रेभल इभेन्ट इन्क’ ले संयुक्त रूपमा आयोजना गरेका हुन्।
कार्यक्रमको मुख्य उद्देश्य क्रियापुत्री भवन निर्माणका लागि सहयोग जुटाउनु रहेको आयोजकले बताए। धार्मिक र सामुदायिक कामका लागि महत्त्वपूर्ण मानिएको यो भवन निर्माणमा सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गरिएको हो।
कथा वाचनका क्रममा देवी प्रतिभाले भागवत महापुराणका गहिरा सन्देश सरल र मीठो शैलीमा प्रस्तुत गर्दै भक्तजनको मन जितिन्। उनको ज्ञानवर्द्धक प्रवचन, भजन र जीवनोपयोगी सन्देशले त्यहाँको वातावरण पूरै भक्तिमय बनेको थियो।
तीन दिनसम्म चलेको यो कार्यक्रममा हजारौँ भक्तजनको उपस्थिति थियो। भक्तजनले श्रद्धापूर्वक कथा सुने, पूजा-अर्चना गरे र पवित्र कामको लागि मन खोलेर सहयोग पनि गरे।
आयोजक संस्था ‘हामी नेपाली इन्टरनेसनल’ र ‘रेभल इभेन्ट इन्क’ ले यो कार्यक्रम धार्मिक अनुष्ठान मात्र नभएर समुदायलाई जोड्ने र भावी पुस्ताका लागि सांस्कृतिक धरोहर बनाउने अभियान भएको बताए।
हामी नेपाली इन्टरनेसनलका अध्यक्ष नवराज केसीले देवी प्रतिभाप्रति आभार प्रकट गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै भक्तजन, स्वयंसेवक र सहयोगीलाई धन्यवाद दिए।
यो भव्य कार्यक्रमले न्युयोर्कमा नेपाली समुदायको एकता, आस्था, संस्कृति संरक्षण र सामाजिक दायित्वप्रतिको प्रतिबद्धतालाई फेरि एकपटक प्रस्ट पारेको छ।

– बेगम पण्डित, न्युयोर्क