२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

क्यास्त्रोविरुद्ध अभियोग लागे पनि क्युवासँग तनाव बढ्दैन: ट्रम्प

क्यास्त्रोविरुद्ध अभियोग लागे पनि क्युवासँग तनाव बढ्दैन: ट्रम्प

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाली क्रान्तिका नेता राउल क्यास्त्रो विरुद्ध अमेरिकी अदालतमा अभियोग दर्ता भए पनि क्युवासँगको तनाव नबढ्ने बताएका छन्। क्यारिबियन क्षेत्रमा अमेरिकी विमानवाहक युद्धपोत पुगेको र क्यास्त्रोमाथि अभियोग लागेको पृष्ठभूमिमा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

बुधवार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले तनाव बढ्ने कुनै सम्भावना र आवश्यकता नरहेको प्रष्ट पारे। अमेरिकी साउदर्न कमान्डले युद्धपोत, एयर विङ र गाइडेड–मिसाइल डिस्ट्रोयर सहितको ‘निमिट्ज क्यारियर स्ट्राइक ग्रुप’ क्यारिबियन क्षेत्रमा आइपुगेको घोषणा गरेलगत्तै ट्रम्पको यो भनाइ आएको हो।

ट्रम्प प्रशासनले पछिल्लो समय क्युबामाथिको प्रतिबन्धलाई थप कडा बनाएका कारण त्यहाँ इन्धन आयातमा अवरोध भई गम्भीर ऊर्जा संकट र राष्ट्रव्यापी लोडसेडिङ भइरहेको छ। यसअघि ट्रम्पले इरानसँगको युद्ध सकिएपछि अर्को निशाना क्युवा हुन सक्ने संकेत समेत गरेका थिए।

यता, राउल क्यास्त्रो विरुद्धको अमेरिकी अभियोगलाई क्युवाली राष्ट्रपति मिगुएल डियाज–कानेलले राजनीतिक चालबाजीको संज्ञा दिएका छन्। उनले क्युवामाथि हुने कुनै पनि अमेरिकी सैन्य आक्रमणको परिणाम भयावह हुने र यसले ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रको शान्तिमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।