विदेशमा रहेका नेपालीलाई बजेटको अफर: सेयर बजारमा लगानीदेखि भोट हाल्नेसम्मको व्यवस्था
- १५ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सरकारले आगामी वर्ष २०८३/८४ को बजेटमा विदेशमा बस्ने नेपाली र वैदेशिक रोजगारीमा गएकाहरूका लागि विशेष व्यवस्थाहरू ल्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीको सीप र पैसालाई देश विकासमा लगाउने बताए।
अब गैरआवासीय नेपालीले नेपालको सेयर बजारमा सिधै लगानी गर्न पाउने भएका छन्। यसका लागि नाफा फिर्ता लैजान मिल्ने गरी कानुन परिमार्जन गरिने अर्थमन्त्रीले प्रस्ट पारे। यसका साथै विदेशमा रहेका नेपालीले नेपाली रुपैयाँमै लगानी गर्न मिल्ने गरी सरकारले ‘डायस्पोरा बन्ड’ निष्कासन गर्ने भएको छ।
बजेटले प्रवासी नेपालीलाई पनि चुनावमा सहभागी गराउने बाटो खोलेको छ। विदेशबाटै भोट हाल्न पाउने अधिकार सुरक्षित गर्न आवश्यक प्राविधिक र कानुनी तयारी गरिने बजेटमा उल्लेख छ। त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्केका कामदारले विदेशमा सिकेको सीपलाई नेपालमा मान्यता दिन ‘स्किल पासपोर्ट’ को व्यवस्था लागू गरिने अर्थमन्त्रीले बताए। यसबाट विदेशमा रहेका नेपालीको पुँजी र सीप देशमै सदुपयोग हुने सरकारको अपेक्षा छ।