२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

रास्वपाको लिखु तामाकोशी गाउँपालिका अध्यक्षमा राजकुमार थापा सर्वसम्मत

रास्वपाको लिखु तामाकोशी गाउँपालिका अध्यक्षमा राजकुमार थापा सर्वसम्मत

रामेछाप : राष्ट्रिय स्वतन्त्र पार्टीको लिखु तामाकोशी गाउँपालिका, रामेछापको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनबाट राजकुमार थापाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा धनबहादुर तामाङ, सचिवमा टोटराज पौडेल, सहसचिवमा सबिन थापा र कोषाध्यक्षमा उषा कार्की चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा कृष्ण बरुवाल, सम्योग थापा, मञ्जु दमिन, ढकल महतारा र तेज नारायण श्रेष्ठ निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष राजकुमार थापाले आफूलाई प्रदान गरिएको विश्वासलाई उच्च सम्मानका साथ आत्मसात् गर्दै इमानदारी, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाए। उनले गाउँपालिका तहमा पार्टीलाई संगठनात्मक रूपमा अझ बलियो, सक्रिय र जनमुखी बनाउने तथा रास्वपाको विचार, मूल्य र उद्देश्यलाई स्थापित गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।

उनले यो जिम्मेवारी व्यक्तिगत नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै एकता, सहकार्य र समर्पणका साथ समृद्ध संगठन निर्माणमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरे।

अधिवेशनले आगामी दिनमा पार्टी संगठनलाई गाउँपालिका तहसम्म थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने, स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउन थप उत्साह प्रदान गरेको सहसचिव सबिन थापाले जानकारी दिए। नयाँ नेतृत्वले पार्टीको संगठन विस्तार, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।