५ अशोज २०८३, सोमवार
21 September 2026, Monday

लस एन्जलस मेट्रोद्वारा नयाँ एप र सजिलै भाडा तिर्ने प्रणाली सुरु

लस एन्जलस मेट्रोद्वारा नयाँ एप र सजिलै भाडा तिर्ने प्रणाली सुरु

लस एन्जलस – सन् २०२६ को विश्वकप फुटबल जस्ता ठूला खेलकुदलाई ध्यानमा राख्दै लस एन्जलसको ‘एलए मेट्रो’ले नयाँ मोबाइल एप र मेसिनमा छोएरै भाडा तिर्न मिल्ने प्रणाली ल्याएको छ। स्थानीय बासिन्दा र विदेशी पर्यटकलाई यात्रा गर्न सजिलो होस् भनेर यो नयाँ प्रविधि ल्याइएको अधिकारीहरूले बताएका छन्।

नयाँ नियमअनुसार यात्रुले गेट र बसमा रहेका मेसिनमा आफ्नो बैंक कार्ड वा मोबाइल वालेटले छोएरै भाडा तिर्न सक्छन्। यसमा एउटै कार्डबाट थप चार जनासम्मको भाडा तिर्न मिल्ने सुविधा पनि छ। यसले गर्दा यात्रुले लामो लाइन बस्नु पर्दैन र बस वा रेल चढ्न छिटो हुने एलए मेट्रोको विश्वास छ।

भाडा तिर्ने नयाँ प्रविधिसँगै एलए मेट्रोले पहिलो पटक आफ्नो आधिकारिक मोबाइल एप पनि सार्वजनिक गरेको छ। यो एपबाट यात्रुले बस र रेल कुन बाटोबाट जान्छ र अहिले कहाँ पुग्यो भन्ने ताजा जानकारी सजिलै पाउन सक्छन्।

एलए मेट्रोकी प्रमुख कार्यकारी अधिकृत स्टेफनी विगिन्सले दैनिक यात्रु र लस एन्जलस घुम्न आउने पर्यटकलाई बिना झन्झट सजिलो यात्रा गराउनु नै यो नयाँ प्रणालीको मुख्य उद्देश्य रहेको बताइन्।