२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

फोर्ट स्नेलिङ अदालतमा एकैपटक ७३ आप्रवासीको सुनुवाइ, न्याय नपाउने चिन्ता

फोर्ट स्नेलिङ अदालतमा एकैपटक ७३ आप्रवासीको सुनुवाइ, न्याय नपाउने चिन्ता

न्युयोर्क – मिनेसोटास्थित फोर्ट स्नेलिङ आप्रवासी अदालतले एकैपटक धेरै मुद्दाको सुनुवाइ गर्न थालेको छ। अदालतले सोमबार एकै दिन ७३ जना आप्रवासीको मुद्दा सुनुवाइ गरेको छ। यति धेरै मुद्दा एकैपटक हेरिएको यो पहिलो पटक हो।

अमेरिकाका सिकागो, बोस्टन, डलास लगायतका सहरमा पनि यसैगरी सयौं मुद्दा एकैपटक हेर्ने सामूहिक सुनुवाइ भइरहेका छन्। अधिकारकर्मीहरूले यसबाट आप्रवासीहरूले निष्पक्ष न्याय नपाउने र उनीहरूलाई छिटो देश निकाला गर्ने नियत देखिएको बताएका छन्। अचानक थोरै समयको मात्र सूचना दिइने भएकाले धेरैले वकिल राख्न नपाउने वा कामबाट बिदा लिएर अदालत जान नसक्ने अवस्था छ। अदालतमा उपस्थित नहुने बित्तिकै उनीहरूलाई देश निकालाको आदेश दिइने गरिन्छ।

मानव अधिकारवादी एमी ल्यान्जले अहिलेसम्म यति धेरै संख्यामा एकैपटक सुनुवाइ भएको नदेखेको बताइन्। मिनेसोटा विश्वविद्यालयकी सारा ब्रेनेसले थोरै समय मात्र दिएर आप्रवासीहरूलाई देश निकालाको जालमा पार्न खोजिएको बताइन्। कानुन व्यवसायी भ्यानेसाले यस्तो सुनुवाइमा मानिसहरूले आफ्नो व्यक्तिगत कुरा राख्न नपाउने भन्दै चिन्ता व्यक्त गरिन्। सन् २०२७ वा २०२८ मा हुनुपर्ने सुनुवाइलाई अगाडि सारेर यसै वर्ष राखिएकाले तयारी गर्ने समय पनि नदिइएको उनीहरूको भनाइ छ।

यता, अमेरिकी न्याय विभागले भने बाँकी रहेका पुराना मुद्दाहरू छिटो टुंग्याउन यस्तो गरिएको जनाएको छ। समयमै मुद्दाको फैसला गर्न नयाँ न्यायाधीशहरू पनि थपिएको विभागले स्पष्ट पारेको छ। तर अधिकारकर्मीहरूले भने छिटो काम सक्ने नाममा व्यक्तिको जीवन मरणको सवाल जोडिएको विषयमा खेलबाड गर्न नहुने बताएका छन्।