ट्रम्पको सैन्य अधिकार कटौती गर्ने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित
- २२ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले इरानविरुद्ध सैन्य कारबाही जारी राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकारलाई सीमित गर्ने पक्षमा मतदान गरेको छ।
यो मतदानमा चार जना रिपब्लिकन सांसदहरूले समेत विपक्षी डेमोक्र्याटहरूलाई साथ दिएका थिए। कुल २१५–२०८ मतले पारित भएको उक्त प्रस्तावले कङ्ग्रेसको थप अनुमतिबिना इरानविरुद्धको युद्धबाट अमेरिकी सेना फिर्ता गर्न राष्ट्रपति ट्रम्पलाई निर्देशन दिएको छ। यसअघि दुवै सदनमा पटक–पटक यस्ता प्रस्ताव ल्याइए पनि ती विफल भएका थिए। हाल पारित भएको यो प्रस्ताव दुवै सदनबाट अनुमोदन भए पनि ट्रम्पले आफ्नो विशेषाधिकार (भिटो) प्रयोग गरी खारेज गर्न सक्ने सम्भावना छ।
इरानसँगको द्वन्द्व सुरु हुँदा ट्रम्पलाई आफ्नै पार्टीको पूर्ण समर्थन थियो। तर युद्धको कुनै निश्चित अन्त्य नदेखिएपछि अहिले आफ्नै दलका सांसदहरूले उनलाई चुनौती दिन थालेका हुन्। विशेष गरी आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचन र बढ्दो इन्धनको मूल्यका कारण पार्टीको नतिजा बिग्रने डरले रिपब्लिकनहरू चिन्तित देखिएका छन्।