२२ जेष्ठ २०८३, शुक्रबार
5 June 2026, Friday

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पाँच दिने भारत भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किएका छन्। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी गत सोमबार नयाँ दिल्ली गएका थिए।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भाजपाका विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवालेले बिदाइ गरे।

भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशङ्कर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछट्टै भेटवार्ता गरे। ती भेटहरूमा दुई देशबीचको सम्बन्ध विस्तार र आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।

भ्रमण टोलीमा रविकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी थिए।