२२ जेष्ठ २०८३, शुक्रबार
5 June 2026, Friday

नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार निर्मम बन्छ: अर्थमन्त्री वाग्ले

नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार निर्मम बन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ कठोर बन्ने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुशासनलाई जरैबाट उखेल्ने अभियानमा सरकार लागेको स्पष्ट पारे।

कुशासनबाट वाक्क भएका नागरिक र व्यवसायीको चाहनाअनुसार वर्तमान सरकार बनेको उनको भनाइ छ। प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह छिटोछरितो बनाउने र योग्यता प्रणालीलाई स्थापित गर्ने उद्देश्यले सरकार अघि बढेको उनले बताए। गरिबलाई पैसा बाँडेर मात्र गरिबी नहट्ने भन्दै उनले नागरिकलाई मध्यम वर्गमा उकास्न सम्मानजनक रोजगारी सिर्जना गर्नुपर्ने र यसका लागि निजी क्षेत्र सक्रिय हुनुपर्नेमा जोड दिए।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत अर्थतन्त्रमा व्यापक सुधार सुरु गरेको दाबी गरे। कर प्रणालीमा ठूलो हेरफेर गरिएको बताउँदै उनले १० लाख रुपैयाँसम्मको आम्दानीमा कर छुट दिने र उच्च आयकरको दरलाई १० प्रतिशतले घटाउने निर्णयले लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे। आयकर घट्दा हुने राजश्व घाटालाई उपभोगमा आधारित कर प्रणालीमार्फत उठाइने सरकारको रणनीति छ।

अर्थतन्त्रलाई चलायमान बनाउन र स्वदेशी उत्पादन बढाउन कर नीतिमा सुधार गरिएको उनले बताए। अनावश्यक अन्तःशुल्क खारेज गरिएको र उद्योगी–व्यवसायीको सुझावका आधारमा केही उत्पादनमूलक क्षेत्रलाई निश्चित समयका लागि संरक्षण दिइएको पनि वाग्लेले जानकारी दिए।