सीमा विवाद हल्ला गरेर होइन, कूटनीतिक संवादबाटै सुल्झिन्छ: रवि लामिछाने
- २२ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। शुक्रबार भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सीमा समस्या ढोल बजाएर नभई सही समयमा कूटनीतिक पहलबाटै सुल्झाउनुपर्ने बताए।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी भनाइलाई परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको भन्दै उनले त्यही नै सरकारको आधिकारिक धारणा भएको जानकारी दिए।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको पनि बताए। दुवै नेता नेपाल आउन सकारात्मक रहेको उनको भनाइ छ।
भारतमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधान गर्न त्यहाँ रहेको नेपाली दूतावास र अन्य संयन्त्रलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए। नयाँ सरकारले नागरिकका गुनासा सुन्न र समस्या समाधान गर्न संयन्त्रहरूलाई थप सक्रिय बनाउने प्रयास गरिरहेको उनले प्रस्ट पारे।