बिम्स्टेक क्षेत्रको विकासका लागि सहकार्य आवश्यक: प्रधानमन्त्री बालेन
- २३ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले ‘बिम्स्टेक’ लाई क्षेत्रीय सहयोगको एक गतिशील मञ्चको रूपमा व्याख्या गर्दै यस क्षेत्रको विकासका लागि सदस्य राष्ट्रहरूबीच थप सहकार्य आवश्यक रहेको बताएका छन्। बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा एक सन्देश जारी गर्दै उनले यस्तो कुरा बताएका हुन्।
प्रधानमन्त्री बालेनले यातायात, व्यापार र डिजिटल नेटवर्कलाई बलियो बनाएर अर्थतन्त्रलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले पर्यटन प्रवर्द्धन, युवाहरूका लागि अवसरको सिर्जना, तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सबै देशले मिलेर काम गर्नुपर्ने आह्वान गरे। एकआपसमा जोडिएको र समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि नेपाल सधैँ प्रतिबद्ध रहेको उनको सन्देशमा उल्लेख छ।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले पनि छुट्टै सन्देश जारी गर्दै बिम्स्टेकले स्थापनाकालदेखि हासिल गरेको प्रगतिको प्रशंसा गरे। नेपालले जनस्तरको सम्पर्क र पर्यटन प्रवर्द्धनको नेतृत्व गरिरहेकाले यस क्षेत्रका जनताबीचको सम्बन्ध अझ गहिरो बनाउन नेपाल तत्पर रहेको उनले बताए। सन् १९९७ जुन ६ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार र भुटान गरी सात सदस्य राष्ट्रहरू छन्।