३० जेष्ठ २०८३, शनिबार
13 June 2026, Saturday

फिफा अध्यक्ष इन्फान्टिनो अमेरिकी नेताहरूको निसानामा, महँगो टिकटको चौतर्फी आलोचना

फिफा अध्यक्ष इन्फान्टिनो अमेरिकी नेताहरूको निसानामा, महँगो टिकटको चौतर्फी आलोचना

वासिङटन- अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकप फुटबलको पूर्वसन्ध्यामा फिफा अध्यक्ष जियानी इन्फान्टिनो अमेरिकी नेताहरूको निसानामा परेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यानो सम्बन्ध बनाए पनि इन्फान्टिनोले अमेरिकाका अन्य राजनीतिक दल र स्थानीय नेताहरूलाई खुसी पार्न सकेका छैनन्।

विशेषगरी विश्वकपको महँगो टिकट मूल्यलाई लिएर डेमोक्र्याट र रिपब्लिकन दुवै तर्फका नेताहरूले फिफाको कडा आलोचना गरेका छन्। न्यूयोर्कका मेयर जोहरान मामदानी र लस एन्जलसकी मेयर कारेन बासले टिकटको मूल्य निकै बढी भएको बताए। न्यूयोर्क र न्यू जर्सीका सरकारी अधिकारीहरूले त टिकटको मूल्यबारे अनुसन्धान नै सुरु गरिसकेका छन्।

राष्ट्रपति ट्रम्प आफैँले पनि टिकटको मूल्य धेरै भएको भन्दै अमेरिकाको पहिलो खेल हेर्न १ हजार डलर तिर्न नसक्ने बताए। इन्डियानाका रिपब्लिकन सिनेटर टोड योङले फिफा सर्वसाधारण जनताभन्दा टाढा रहेको र यसलाई अभिजात वर्गले मात्र चलाएको आरोप लगाए।

यसैबीच, कडा आप्रवासन नीतिका कारण आलोचना खेपिरहेको ट्रम्प प्रशासनले विश्वकपका लागि आउने विदेशी पाहुनाहरूलाई भने केही सहज नीति अपनाएको छ। विश्वकप खेल्ने देशका नागरिकले अमेरिका प्रवेश गर्दा बुझाउनुपर्ने १५ हजार डलरसम्मको महँगो धरौटी रकमको नियमलाई अहिलेका लागि स्थगित गरिएको छ। यो बहुप्रतीक्षित विश्वकप फुटबल आगामी जुलाई १९ सम्म चल्नेछ।