२८ जेष्ठ २०८३, बिहिबार
11 June 2026, Thursday

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमाबारे दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार उपयोग-उपभोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

नेपाल र भारत सीमाका विभिन्न ठाउँमा सीमापार उपभोगको विवाद रहेको मन्त्री खनालले बताए। सरकारले सीमा क्षेत्रको वास्तविक अवस्था पत्ता लगाउन दुवै देशका संयन्त्रमार्फत नक्साङ्कन (म्यापिङ) को काम गरिरहेको उनले जानकारी दिए। यो प्राविधिक काम सकिएपछि विस्तृत विवरण सार्वजनिक हुने उनको भनाइ छ।

मन्त्री खनालका अनुसार सीमा क्षेत्रमा दुवै पक्षले आ-आफ्नो उपभोगमा रहेको जमिनमाथि दाबी गर्दै आएका छन्। प्राविधिक समितिको अध्ययनले अहिले नेपालले भोगचलन गरिरहेको कतिपय जग्गा भारततर्फ र भारतले भोगचलन गरिरहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उनले बताए। प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति यही प्राविधिक यथार्थ र सीमापार उपभोगको सन्दर्भसँग जोडिएको उनले स्पष्ट पारे।

नेपाल-भारत सीमा द्विपक्षीय विषय भएकाले ऐतिहासिक सन्धि-सम्झौता, नक्सा र स्थापित आधारमा यसको समाधान खोजिने उनले बताए। मन्त्री खनालले दुई देशबीचको घनिष्ट सम्बन्धको मर्मअनुसार कूटनीतिक संवाद र वार्तामार्फत सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे।