प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण परराष्ट्रमन्त्रीले दिनु दुर्भाग्यपूर्ण: ज्ञानेन्द्र शाही
- २८ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको बोलीको बचाउ मन्त्रीहरूले गर्ने कुरा विश्वमा कतै नभएको दाबी गरे।
नेपालको इतिहासमा पहिलो पटक यस्तो उल्टो गति देखिएको भन्दै नेता शाहीले आपत्ति जनाए। प्रधानमन्त्री साहले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटि भएको उनको भनाइ छ। यो गल्ती प्रधानमन्त्री आफैँले संसद्मा आएर सच्याउनुपर्ने अडान उनले दोहोर्याए।
शाहीले भने, “संसारभर मन्त्री वा सांसदले गल्ती गर्दा प्रधानमन्त्रीले सच्याउने चलन हुन्छ। तर यहाँ प्रधानमन्त्रीको गम्भीर त्रुटि मन्त्रीले सच्याउनुपर्ने परिस्थिति आयो। यो राष्ट्रको भूभाग र संवेदनशीलतासँग जोडिएको विषय हो, त्यसैले यो अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ।”
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि नेपाल-भारत सीमा क्षेत्रमा नेपाली जनताले दुःख झेल्नु परिरहेको भन्दै नेता शाहीले संसद्मा आक्रोश पोखे।