२८ जेष्ठ २०८३, बिहिबार
11 June 2026, Thursday

फिफा विश्वकपको रौनक: न्युयोर्क र न्युजर्सीका ६ स्थानमा विशेष ‘फ्यान जोन’

फिफा विश्वकपको रौनक: न्युयोर्क र न्युजर्सीका ६ स्थानमा विशेष ‘फ्यान जोन’

न्युयोर्क- फिफा विश्वकप २०२६ सुरु भएसँगै न्युयोर्क र न्युजर्सी क्षेत्रमा फुटबलको उत्सव सुरु भएको छ। मेक्सिको र दक्षिण अफ्रिकाबिचको पहिलो खेलसँगै खेलप्रेमीहरूका लागि विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू आयोजना गरिएका छन्।

रंगशालाको टिकट नपाएका र फुटबलको माहौलमा रम्न चाहने समर्थकहरूका लागि फिफाले ६ वटा विशेष स्थानहरू तोकेको छ। यी ठाउँहरूमा ठुला स्क्रिनमा खेलको प्रत्यक्ष प्रसारण, सांस्कृतिक प्रस्तुति, सांगीतिक कार्यक्रम र खेलकुद गतिविधिहरू हुनेछन्।

खेलप्रेमीहरूले निम्न ६ स्थानमा यो अवसर पाउनेछन्:

-स्पोर्ट्स इलस्ट्रेटेड स्टेडियम (ह्यारिसन, न्युजर्सी): जुन ११ देखि जुलाई १९ सम्म

-युएसटीए बिली जिन किङ नेशनल टेनिस सेन्टर (क्विन्स, न्युयोर्क): जुन ११ देखि जुन २७ सम्म

-रकेफेलर सेन्टर (मिडटाउन म्यानहट्टन, न्युयोर्क): जुलाई ६ देखि जुलाई १९ सम्म

-सिउ कम्युनिटी पार्क (स्टाटेन आइल्याण्ड, न्युयोर्क): जुन २९ देखि जुलाई २ सम्म

-ब्रोन्क्स टर्मिनल मार्केट (साउथ ब्रोन्क्स, न्युयोर्क): जुन १३ र १४ तारिख

-ब्रुकलिन ब्रिज पार्क (ब्रुकलिन): जुन १३ देखि जुलाई १९ सम्मका निश्चित दिनहरूमा

फिफा विश्वकप २०२६ का मुख्य सञ्चालन अधिकृत हाइमो शिर्गीले यी फ्यान उत्सवहरूले विश्वभरका फुटबल प्रेमीहरूलाई एकै ठाउँमा जोड्ने बताए। उनले रंगशाला बाहिर पनि विश्वकपको एउटा फरक र जीवन्त अनुभव दिन यी स्थानहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।