विश्वकप फुटबल: अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४-१ ले पराजित
- ३० जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- आफ्नै घरेलु मैदानमा आयोजना भइरहेको विश्वकप फुटबलमा अमेरिकाले सानदार सुरुवात गरेको छ। क्यालिफोर्नियामा शुक्रबार राति भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ गोलले हराएको हो।
अमेरिकाको जितमा फोलारिन बालोगनले पहिलो हाफमै उत्कृष्ट दुई गोल गरे। क्रिस्चियन पुलिसिचको उत्कृष्ट प्रदर्शनमा अमेरिकाले खेलको सुरुवातमै पाराग्वेका खेलाडीबाट आत्मघाती गोलमार्फत अग्रता लिएको थियो। खेलको अन्तिम समयमा जियो रेनाले अर्को एक गोल थपेपछि अमेरिकाले विश्वकप इतिहासमै पहिलो पटक एकै खेलमा चार गोल गर्ने कीर्तिमान बनाएको छ। पाराग्वेका लागि भने दोस्रो हाफमा मौरिसियोले एक गोल फर्काएका थिए।
३२ वर्षपछि आफ्नै मैदानमा विश्वकप खेलिरहेको अमेरिकाले यस पटक निकै आक्रामक र उत्कृष्ट प्रदर्शन गर्यो। अमेरिकी टोलीका प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलाडीहरूको तारिफ गर्दै यो जितले अमेरिकामा फुटबलका धेरै नयाँ समर्थक थपिने बताए। उनले टोलीले सानदार खेल प्रदर्शन गरेको र आफूलाई खेलाडीमाथि पूर्ण विश्वास रहेको पनि उल्लेख गरे। खेल हेर्न हलिवुडका चर्चित कलाकारहरू समेत मैदान पुगेका थिए।