विश्वकप फुटबल: अस्ट्रेलियाको टोलीमा आप्रवासी खेलाडीहरूको वर्चस्व, एकताको सन्देश
- ३० जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- विश्वकप फुटबलको आफ्नो पहिलो खेल खेल्नुअघि अस्ट्रेलियाको राष्ट्रिय टोली (सोकरुज) ले आफ्ना आप्रवासी खेलाडीहरूको सम्मान गर्दै ‘फुटबल सबैका लागि हो’ भन्ने बलियो सन्देश दिएको छ। विश्वभर आप्रवासी विरोधी भावना बढिरहेका बेला अस्ट्रेलियाले आफ्नो टोलीको यो बहुसांस्कृतिक पहिचानलाई उत्सवका रूपमा मनाएको हो।
प्रोफेसनल फुटबलर्स अस्ट्रेलिया (पीएफए) ले सार्वजनिक गरेको एउटा भिडियोमा शरणार्थी शिविरमा जन्मिएर अस्ट्रेलिया आइपुगेका खेलाडीहरूको संघर्षलाई देखाइएको छ। टोलीका फरवार्ड आवेर माबिल केन्याको शरणार्थी शिविरमा जन्मिएका थिए। यस्तै, पहिलो पटक विश्वकप खेल्न लागेका मोहम्मद तुरे गिनीको र नेस्टोरी इरानकुन्डा तान्जानियाको शरणार्थी शिविरमा जन्मिएका हुन्। टोलीका अर्का खेलाडी मिलोस डेगेनेकको परिवार पनि क्रोएसिया र सर्बियामा शरणार्थी जीवन बिताएर सिड्नी सरेको थियो।
आप्रवासी खेलाडीहरूको संघर्ष र सफलतालाई समेट्दै पीएफएका प्रमुख कार्यकारी बो बुसले भने, “जतिबेला मानिसहरू हामीलाई विभाजित गर्न खोजिरहेका छन्, त्यतिबेला यो टोलीले अस्ट्रेलियाको वास्तविक पहिचान झल्काएको छ।” अस्ट्रेलियाले शनिबार भ्यानकुभरमा टर्कीविरुद्ध खेल्दै यस विश्वकपको सुरुवात गर्दैछ।