विश्वकप २०२६: स्पेनले आज नवप्रवेशी केप भेर्डेको सामना गर्दै
- ३१ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ मा स्पेनले आज नवप्रवेशी टोली केप भेर्डेसँग खेल्दैछ। यो खेल केप भेर्डेका लागि विश्वकप इतिहासकै पहिलो ऐतिहासिक खेल हो।
सन् २०१० को च्याम्पियन तथा युरोकप २०२४ विजेता स्पेन यसपटक पनि उपाधिको बलियो दाबेदार हो। पछिल्ला १० खेलमा अपराजित स्पेन उच्च मनोबलमा छ। उता, अफ्रिकी छनोटमा क्यामरुनलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको केप भेर्डेले पनि आफ्ना पछिल्ला तीन खेल जितेर राम्रो लय देखाएको छ। पहिलोपटक स्पेनसँग खेल्न लागेको केप भेर्डेले समूहमा दोस्रो वा उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुग्ने लक्ष्य राखेको छ।
स्पेनका प्रमुख खेलाडीहरू लामिन यमाल र निको विलियम्स चोटमुक्त भएर प्रशिक्षणमा फर्किए पनि आज बेन्चमै बस्ने सम्भावना छ। त्यसैले अग्रपङ्क्तिमा फरान टोरेस, एलेक्स बेइना र मिकेल ओयारजाबालले सुरुवात गर्न सक्छन्। केप भेर्डेको टोलीमा भने कुनै चोटको समस्या छैन। टोलीका ३६ वर्षीय सर्वाधिक गोलकर्ता रायन मेन्डेज आज आफ्नो करियरकै सबैभन्दा ठूलो खेल खेल्न मैदानमा उत्रिनेछन्।
यसै समूहको अर्को खेलमा मंगलबार बिहान ३:४५ बजे साउदी अरेबिया र उरुग्वे भिड्दैछन्। त्यसपछि स्पेनको दोस्रो खेल साउदी अरेबियासँग र केप भेर्डेको खेल जुन २१ मा उरुग्वेसँग हुनेछ।