१ असार २०८३, सोमवार
15 June 2026, Monday

निक्सको ऐतिहासिक जितपछि न्युयोर्कमा हिंसा, ६३ जना पक्राउ

निक्सको ऐतिहासिक जितपछि न्युयोर्कमा हिंसा, ६३ जना पक्राउ

न्युयोर्क- न्युयोर्क निक्सले ५३ वर्षपछि पहिलो पटक एनबीए बास्केटबलको उपाधि जितेको खुसीयाली मनाउने क्रममा न्युयोर्क सहरमा ठूलो हिंसा र तोडफोड भएको छ। निक्सले फाइनलको पाँचौँ खेलमा सान एन्टोनियो स्पर्सलाई ९४–९० ले हराएर ऐतिहासिक उपाधि जितेपछि म्यानहट्टनका सडकमा हजारौँ समर्थक ओर्लिएका थिए। तर, यो उत्सव चाँडै नै अराजकतामा बदलियो।

न्युयोर्क प्रहरीका अनुसार उत्सवका नाममा तोडफोड र हिंसा गर्ने ६३ जनालाई पक्राउ गरिएको छ। भीड नियन्त्रण गर्ने क्रममा १० जना प्रहरी अधिकारी घाइते भएका छन्। उच्छृङ्खल भीडले एक प्रहरीको अनुहारमा मुक्का हानेको थियो भने अर्का प्रहरीलाई सिसाको बोतलले हिर्काएको थियो।

टाइम्स स्क्वायर नजिकै राति २ बजेतिर भएको गोलीकाण्डमा एक १७ वर्षीय किशोर घाइते भएका छन्। उनको देब्रे खुट्टामा गोली लागेको छ र अस्पतालमा उनको अवस्था स्थिर छ। प्रहरीले घटनास्थलबाट एउटा बन्दुक बरामद गरेको छ भने तीनजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। सडकमा भीड निकै धेरै भएकाले सुरुमा एम्बुलेन्सलाई समेत घटनास्थल पुग्न गाह्रो भएको थियो।

उत्सवकै क्रममा छुरा प्रहार र कुटपिटका घटना समेत भएका छन्। विश्वकपका दर्शक ओसार्न प्रयोग गरिएका पाँचवटा स्कुल बसमा आगजनी र तोडफोड गरिएको छ। प्रदर्शनकारीले प्रहरीका पाँचवटा गाडीका सिसा फुटाइदिएका छन् भने सर्वसाधारणका गाडीमा पनि क्षति पुर्‍याएका छन्। मानिसहरू ट्राफिक बत्ती र गुडिरहेका दमकलमाथि चढेर चिच्याइरहेका देखिन्थे।

यसैबीच, टोलीको ऐतिहासिक जितको उपलक्ष्यमा आउँदो बिहीबार न्युयोर्कमा आधिकारिक विजय परेड आयोजना गरिने तय भएको छ।