५ असार २०८३, शुक्रबार
19 June 2026, Friday

विश्वकप फुटबल: ‘घृणा फैलाउने अभिव्यक्ति’ विरुद्ध मैदानमै उत्रिए खेलाडी

विश्वकप फुटबल: ‘घृणा फैलाउने अभिव्यक्ति’ विरुद्ध मैदानमै उत्रिए खेलाडी

न्युयोर्क- विश्वकप फुटबलअन्तर्गत बिहीबार हुने खेलहरूमा सहभागी आठवटै टोलीले ‘घृणा फैलाउने अभिव्यक्ति’  विरुद्ध ऐक्यबद्धता जनाउने भएका छन्। ‘घृणा फैलाउने अभिव्यक्तिविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ को अवसर पारेर खेलाडीहरूले खेल सुरु हुनुअघि विशेष झण्डा साटासाट गर्न लागेका हुन्।

बिहीबार चेकिया र दक्षिण अफ्रिका, मेक्सिको र दक्षिण कोरिया, स्विट्जरल्याण्ड र बोस्निया-हर्जगोभिना, तथा क्यानडा र कतारबिच खेल हुँदै छ। यी खेलका कप्तानहरूले साटासाट गर्ने झण्डामा “हामी सँगै खेल्छौँ, घृणाको विरुद्धमा उभिन्छौँ” भन्ने सन्देश लेखिएको छ। उक्त झण्डाको एकतर्फ अंग्रेजी र अर्कोतर्फ सम्बन्धित देशको मातृभाषामा सो कुरा लेखिएको छ।

फिफाका अनुसार सन् २०२२ को विश्वकपदेखि सुरु गरिएको सामाजिक सञ्जाल सुरक्षा सेवामार्फत हालसम्म ३ करोडभन्दा बढी गालीगलौज तथा घृणा फैलाउने पोस्टहरू हटाइसकिएको छ। जारी विश्वकपको सुरुआती केही दिनमै मात्र करिब ४ लाख यस्ता नकारात्मक पोस्टहरू हटाइएको फिफाले बताएको छ। यो सङ्ख्या सन् २०२२ को पूरा विश्वकप अवधिभर हटाइएका पोस्टभन्दा बढी हो। रंगशालाभित्र पनि बिहीबार खेलका दौरान यस्तै चेतनामूलक सन्देशहरू प्रचार गरिनेछ।