नेपालको स्वतन्त्र अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
- ०७ असार २०८३
- १ मिनेटको पढाई
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाबाट सिक्नुपर्ने बताएकी छन्। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले १९ औँ शताब्दीको कठिन समयमा देशलाई स्वतन्त्र राख्न जंगबहादुरले खेलेको भूमिकाको प्रशंसा गरिन्।
दक्षिण एसियाको ठूलो हिस्सा बेलायती साम्राज्यको कब्जामा पुग्दा पनि नेपाल स्वतन्त्र रहनुको श्रेय जंगबहादुरलाई नै जाने उनले बताइन्। जंगबहादुरको कूटनीतिक नीतिका कारण बेलायतसँगको सम्बन्ध व्यवस्थित भएको र सीमामा गाडिएका ‘जंगे पिलर’ले नेपालको सिमाना सुरक्षित गर्न ठूलो मद्दत गरेको उनको भनाइ छ। साथै, सन् १८५७ को भारतीय विद्रोह दबाउन सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (नयाँ मुलुक) फिर्ता ल्याउनुलाई उनले महत्त्वपूर्ण राष्ट्रिय उपलब्धि मानेकी छन्।
जंगबहादुरले वि.सं. १९१० मा मुलुकी ऐन जारी गरेर कानुनी राज्यको सुरुवात गरेको र सती प्रथालाई निरुत्साहित गर्न पहल गरेको पनि भण्डारीले सम्झिइन्। यद्यपि, त्यतिबेलाको कानुनमा भएका जातीय र सामाजिक असमानता भने आजको समाजमा स्वीकार्य नहुने उनले प्रस्ट पारिन्।
आजको आधुनिक नेपालमा राष्ट्रियता भनेको भूगोल र सिमानाको रक्षा गर्नु मात्र नभएर लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता र आर्थिक आत्मनिर्भरतासँग पनि जोडिएको भण्डारीले बताइन्। राष्ट्रियता र लोकतन्त्रलाई सँगसँगै अगाडि बढाउँदा मात्रै देशको दिगो विकास हुने उनको भनाइ छ।