२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

कम्युनिष्ट आन्दोलन सुधार्न आत्मसमीक्षा जरुरी : विद्यादेवी भण्डारी

कम्युनिष्ट आन्दोलन सुधार्न आत्मसमीक्षा जरुरी : विद्यादेवी भण्डारी

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयअनुसार जनमुखी र प्रभावकारी बनाउन आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्। आइतबार काठमाडौंमा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्।

गत चुनावको नतिजाले कम्युनिष्ट शक्तिहरूलाई आफ्नो काम गर्ने शैली र जनतासँगको सम्बन्ध सुधार्ने अवसर दिएको उनले बताइन्। तर, एउटा चुनावको नतिजालाई मात्र हेरेर कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने उनको तर्क छ। नयाँ पुस्ता, फेरिँदो समाज र प्रविधिको विकासलाई ध्यानमा राखेर कम्युनिष्ट आन्दोलनले आफ्नो नीति र शैली सुधार्दै लैजानुपर्नेमा उनले जोड दिइन्।

साथै, नेपालको बहुजातीय र बहुसांस्कृतिक विशेषतालाई हेर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली देशका लागि उपयुक्त नहुने पनि उनले स्पष्ट पारिन्। चुनाव जित्नु मात्र ठूलो कुरा नभई निर्वाचित भएपछि पनि संविधानको मर्यादा, विधिको शासन र जनताप्रतिको उत्तरदायित्व निरन्तर पालना गर्नु नै साँचो लोकतन्त्र भएको उनले बताइन्।