एम्बाप्पे र हालान्ड चम्किएपछि फ्रान्स र नर्वे विजयी
- १७ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- विश्वकप फुटबल २०२६ को नकआउट चरणमा फ्रान्स र नर्वेले आ-आफ्नो खेल जित्दै अघिल्लो चरणमा स्थान बनाएका छन्।
गएराति भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० को सहज गोल अन्तरले हरायो। फ्रान्सको जितमा कप्तान केलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राडली बारकोलाले एक गोल थपे। एम्बाप्पेले खेलको ४५औँ र ७४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। माइकल ओलिसेले दुई गोलका लागि पास मिलाइदिए। स्विडेनलाई पाखा लगाएको फ्रान्सले अब जुलाई ४ मा पराग्वेको सामना गर्नेछ। यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले चालु विश्वकपमा ६ गोल पुरा गर्दै लियोनेल मेस्सीसँग सर्वाधिक गोलकर्ताको सूचीमा बराबरी गरेका छन्।
अर्को खेलमा नर्वेले आइभोरी कोस्टलाई २–१ ले पराजित गर्दै इतिहास रच्यो। नर्वेको विश्वकप इतिहासमा नकआउट चरणको यो पहिलो जित हो। नर्वेका लागि ३९औँ मिनेटमा एन्टोनियो नुसाले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा आइभोरी कोस्टका अमद डियालोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। तर, खेल सकिन केही मिनेट मात्र बाँकी छँदा ८६औँ मिनेटमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले गोल गर्दै नर्वेको ऐतिहासिक जित पक्का गरे। हालान्डको यो प्रतियोगितामा पाँचौँ गोल हो। जितसँगै नर्वेका खेलाडी र समर्थकहरूले मैदानमै आफ्नो परम्परागत ‘भाइकिङ रो’ शैलीमा खुसीयाली मनाए।