विश्वकपबाट बाहिरियो केप भर्डे, तर स्वदेशमा छायो फुटबलको क्रेज
- २२ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- फिफा विश्वकपमा केप भर्डे शुक्रबार अर्जेन्टिनासँग ३–२ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तर, विश्वकपमा टोलीले गरेको प्रदर्शनले देशमा भने ठूलो उत्साह थपेको छ। विशेषगरी राजधानी प्राइयाका बालबालिकामा राष्ट्रिय टोली ‘ब्लु सार्कस’ बाट खेल्ने सपना पलाएको छ।
अहिले त्यहाँका फुटबल मैदानहरूमा आधारभूत सीप सिक्ने युवा खेलाडीको भिड लाग्न थालेको छ। इपिआइएफका अध्यक्ष पेड्रो बेटेनकोर्टले विश्वकपमा देशको सहभागिताले अभिभावकको सोच बदलेको बताए। उनले भने, “फुटबलबाटै आफ्ना छोराछोरी अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्छन् भन्ने विश्वास अभिभावकमा बढेको छ। पछिल्लो समय एकेडेमीमा भर्ना हुनेको संख्या निकै बढेको छ।”
युवा खेलाडीहरू आफ्ना देशका खेलाडी भोजिन्हा, रायन, स्टोपिरा र जोभान काब्राल जस्तै बन्न चाहिरहेका छन्। युवा गोलरक्षक डिओगो सिल्भा राष्ट्रिय टोलीका गोलरक्षक भोजिन्हाको बाटो पछ्याउन चाहन्छन् भने अर्का खेलाडी लियामले टेल्मो आर्काञ्जो जस्तै राम्रो खेल्ने लक्ष्य राखेका छन्। विश्वकपबाट बाहिरिए पनि यस पटकको यात्राले केप भर्डेको फुटबलको भविष्यका लागि बलियो जग बसालेको छ।