२३ असार २०८३, मङ्लबार
7 July 2026, Tuesday

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातोबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातोबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले आज शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।

​प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे।

उनीहरुबीच जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।
​भेटका क्रममा अध्यक्ष कान्दाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताए।
​उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याए। नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ।